मिथिला बिहारी मन्दिर
प्राचीन मिथिलाको राजधानी एवं सीताको पावन जन्मभूमि जनकपुरधामबाट करिब ८ किलोमिटर उत्तर-पूर्वमा, साविक कचुरी ठेरा गा.वि.स. वडा नं. १ (हाल मिथिला बिहारी नगरपालिका वडा नं. ८, कचुरी गाउँ) मा ऐतिहासिक मिथिला बिहारी मन्दिर अवस्थित छ।
स्थापना र इतिहास: यो मन्दिर करिब २०० वर्षभन्दा पहिले श्री श्री १०८ लाडली लाल शरणजी महाराजद्वारा स्थापित भएको मानिन्छ। मन्दिरका वर्तमान महन्त श्री श्री १०८ वैष्णव श्री राम नरेश शरणजीका अनुसार, यसै प्रसिद्ध मन्दिरको नामबाट नगरपालिकाको नामाकरण "मिथिला बिहारी" राखिएको हो। धार्मिक तथा पर्यटकीय महत्त्व: यस मन्दिरको आफ्नै विशिष्ट धार्मिक, पर्यटकीय मूल्य-मान्यता र महत्त्व रहेको छ। मिथिलाञ्चल र मधेश क्षेत्रको सुप्रसिद्ध पन्ध्र दिवसीय माध्यमिकी परिक्रमाको विधिवत् सुरुवात यसै पवित्र स्थानबाट हुने गर्दछ। मन्दिरबाट करिब २ कि.मी. पूर्वमा मिथिला बिहारी नगरपालिकाको कार्यालय रहेको छ भने ५ कि.मी. पूर्वमा त्रेतायुगीन प्रसिद्ध परशुराम तलाउ तथा १० कि.मी. पूर्वमा धनुषाधाम अवस्थित छ। परिक्रमा विश्राम स्थल: पन्ध्र दिवसीय माध्यमिकी परिक्रमाको डोला यस मिथिला बिहारी मन्दिरबाट प्रारम्भ भई सर्वप्रथम विश्राम स्थलको रूपमा मन्दिरबाट करिब १ कि.मी. पश्चिममा, मूल सडकभन्दा दक्षिण एवं जलाद पुलभन्दा ५०० मि. पूर्व (मूल सडकको दक्षिणतर्फ) रहेको खाली ठाउँलाई लिइन्छ ।
मेला तथा उत्सवहरू:पन्ध्र दिवसीय माध्यमिकी परिक्रमाको पहिलो डोला उठ्ने दिन यहाँ भव्य मेला लाग्ने गर्दछ। छठ पर्वको पारण (समापन) का दिन पनि विशेष मेला लाग्दछ, जसमा विभिन्न धार्मिक भजन-कीर्तन एवं नाचगान प्रस्तुत गरिन्छ। स्थानीय बासिन्दाहरूले हर्षोल्लासका साथ यो पर्व मनाउँछन्। शरद पूर्णिमा, राम नवमी एवं कृष्ण जन्माष्टमी (दही कादो) जस्ता पर्वहरूमा पनि भजन-कीर्तन तथा विशेष पूजाआजा गरिन्छ ।
मन्दिरको सम्पत्ति: मिथिला बिहारी मन्दिर करिब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको सुन्दर र रमणीय प्राङ्गणमा अवस्थित छ। मन्दिरको आफ्नो १.५ बिघामा फूलबारी र करिब १४ बिघा जमिन रहेको छ। यस सम्पूर्ण सम्पत्तिको हेरचाह एवं व्यवस्थापन मन्दिरका महन्त श्री श्री १०८ वैष्णव श्री राम नरेश शरणजी महाराजबाट हुँदै आएको छ। वर्तमान महन्तका अनुसार, यो सम्पत्ति करिब १५० वर्ष पहिले खरिदमान सिंह र जितमान सिंहले दानस्वरुप प्रदान गर्नुभएको हो।।
पूजा कार्य | समय |
---|---|
पूजा आरम्भ | बिहान ८:०० बजे |
भोग लगाउने समय | बिहान ११:०० बजे |
शयन | दिउँसो १२:०० बजे |
जल आगमन | दिउँसो ३:३० बजे |
आरती | बेलुका ७:३० बजे |
अन्न क्षेत्र | राति १०:०० बजे |
शयन अन्तिम समय | राति ११:०० बजे |
परशुराम तालाउ
प्राचीन मिथिलाको राजधानी जनकपुरधामबाट करिब १४ कि.मी. पूर्व तथा धनुषाधामबाट करिब ५ कि.मी. पश्चिममा रामायणकालीन ऐतिहासिक परशुराम तलाउ अवस्थित छ। पहिले यो तलाउ "जनक सरोवर"को नामले चिनिन्थ्यो। स्थानीय कथनअनुसार, पछि भगवान परशुरामको घोर तपस्याबाट प्रसन्न भई यस तलाउमा फुलेको कालो कमल सेतो कमलमा परिणत भएपछि यसलाई "परशुराम तलाउ" भन्न थालियो। यो तलाउ साविक मिथिलेश्वर निकास गा.वि.स. वडा नं. ४ (हाल मिथिला बिहारी नगरपालिका वडा नं. २, पुरन्दाहा) मा अवस्थित छ।
भौतिक संरचना र प्राकृतिक सौन्दर्य: करिब २५ बिघा क्षेत्रफलमा फैलिएको यो तलाउ परिसरमा दक्षिणतिर सीताल सरोवर रहेको छ। परशुराम तलाउ र सीता सरोवरसहित पानीले ढाकेको क्षेत्र करिब १० बिघा र डिल क्षेत्र करिब १५ बिघा रहेको अनुमान छ। यसको ठीक पश्चिम दिशामा जगधर नदी बगेको छ। विगत ४-५ वर्षदेखि यस क्षेत्रको सम्पूर्ण सम्पत्तिको रेखदेख महन्त श्री श्री १०८ वैष्णव मौनी बाबा तथा सहायक महन्त श्री श्री १०८ वैष्णव राधा मोहन दासजी महाराजद्वारा भइरहेको छ।
जैविक विविधता: पोखरी तथा जलाशयमा सिल्ली चरा, जलहाँस, नीलकमल, रक्तकमल जस्ता दुर्लभ पंक्षी तथा लोपोन्मुख प्रजातिका वनस्पतिहरू पाइनु यसको प्रमुख विशेषता हो।
धार्मिक महत्त्व र उत्सवहरू: यहाँ छठ, एकादशी एवं जितिया पर्वमा विशेष धार्मिक अनुष्ठान, भजन-कीर्तन, नाचगानको आयोजना गरी तलाउलाई बेहुलीझैँ सिँगारिन्छ। जितिया पर्वमा बिहानैदेखि यस क्षेत्र वरपरका महिलाहरूको उल्लेखनीय भीड लाग्ने गर्दछ। यहाँ दैनिक बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि १० बजेसम्म निरन्तर पूजापाठ हुने गर्दछ।
तलाउ परिसरका संरचनाहरू:
तलाउको पूर्वी डिलमा मिथिला बिाहरी नगरपालिका द्वारा निर्मित नगर डिहवार मन्दिर अवस्थित छ।
उत्तरी डिलमा पूर्वबाट क्रमशः मिथिलेश्वर महादेव मन्दिर, निर्माणाधीन अवस्थामा रहेको परशुरामको मूर्ति, र उत्तरी डिलको सबैभन्दा पश्चिममा भव्य हनुमानजी महाराजको मन्दिर रहेका छन्।
तलाउमा प्रवेश गर्नका लागि उत्तरतिर एउटा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ।
संरक्षण र विकासको आवश्यकता: जगधर नदी, सीता सरोवर र परशुराम तलाउमा पवित्र स्नान गरी शिव धनुषको दैनिक नियमित पूजापाठ र दर्शन लाभ हुने भए तापनि ठोस संरक्षणको अभावमा यी सम्पदाहरू केही उपेक्षित अवस्थामा देखिन्छन् । यस क्षेत्रलाई विशेष महत्त्वका साथ विकास एवं सौन्दर्यीकरणमा जोड दिईनेछ साथै यस मिथिला क्षेत्रको एउटा महत्त्वपूर्ण पर्यटकीय, धार्मिक, सांस्कृतिक केन्द्रको रूपमा परिचित गराई यस क्षेत्रको सर्वाङ्गीण विकासमा टेवा पुग्ने प्रबल सम्भावना देखिन्छ। परशुराम तलाउको महत्त्व एवं विशेषताले यहाँका बासिन्दाहरूको समेत पहिचानलाई अझ उजिल्याएको छ ।
प्रशासनिक विवरण
प्रदेश | मधेश प्रदेश |
---|---|
जिल्ला | धनुषा |
कार्यालय | तारापट्टी |
वडा संख्या | १० |
क्षेत्रफल | ३७.६० वर्ग कि.मी. |
जनसंख्या | ३८,२७३ |
घरधुरी | ७,६५४ |
वडा विभाजन
वडा नं. | गाविस | जनसंख्या | क्षेत्रफल (कि.मी.) |
---|---|---|---|
१ | भूतही पर्टेवा | ४२७१ | ७.७२ |
२ | मिथिलेश्वर निकास | ३४६४ | ३.२० |
३ | मिथिलेश्वर मौवाही | ३८६३ | ३.४१ |
४ | कजरा रमौल | २८५० | ३.४६ |
५ | मिथिलेश्वर निकास | ३६९० | ४.८५ |
६ | तारापट्टी–सिरसिया | ४७२० | ३.६५ |
७ | तारापट्टी–सिरसिया | ३११२ | २.०७ |
८ | ठेरा कचुरी | ३०२२ | ३.४६ |
९ | अन्दुपट्टी | १७२१ | २.२९ |
१० | ठेरा कचुरी | २८०८ | ३.२९ |
धार्मिक तथा सांस्कृतिक सम्पदा
- मिथिला बिहारी मन्दिर
- परशुराम तालाउ
- सिता सरोवर
- नगर डिहवार मन्दिर
- ललिया ठाकुर मन्दिर
- सलहेश मन्दिर
- तपेश्वरनाथ मन्दिर
- जलाद र जगधर नदी
धर्म, संस्कृति र जातजाति
मुख्यतया हिन्दू र मुस्लिम धर्मावलम्बी बसोबास गर्दै आएका छन्। यहाँ जुडशीतल, दशैं, तिहार, छठ, ईद, होली आदि पर्वहरू मनाइन्छन्। जातिहरूमा यादव, साह, मण्डल, चमार, मुसहर, ब्राम्हण, कायस्थ, राजपुत लगायत छन्।